इटहरी । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुभाषिक फिल्म ‘प्रतिवैरम्’ आफ्नो आइटम गीत ‘माहोल गरम’ रिलिजअघि नै चर्चामा आएको छ। गीतको हिन्दी संस्करणमा देखिएको क्रेडिट विवादलाई निर्माण टिमले आपसी समझदारीमा समाधान गरेको जनाएको छ।
विवादको सुरुवात गायिका शिवानी भगतले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेपछि भएको थियो। उनले हिन्दी संस्करणको शब्द रचना लव कर्णले गरेको भए पनि लिरिक्स क्रेडिटमा रोशन दासको नाम राखिएको भन्दै प्रश्न उठाएकी थिइन्।
त्यसपछि लव कर्णले पनि गीतलाई फरक भाषामा लिप–सिंक मिलाउँदै रूपान्तरण गर्न आफूले गरेको मिहिनेतको उचित श्रेय पाउनुपर्ने भन्दै सार्वजनिक रूपमा आग्रह गरेका थिए।
विवादपछि फिल्म निर्माण टिमले प्राविधिक कमजोरीका कारण क्रेडिटमा त्रुटि देखिएको स्वीकार गर्दै त्यसलाई सच्याइने र क्रेडिटसम्बन्धी विषय पूर्ण रूपमा समाधान भइसकेको स्पष्ट पारेको छ। टिमले विवादलाई थप नतन्काई आपसी समझदारीमै टुंग्याइएको जनाएको छ।
निर्माण पक्षका अनुसार उक्त विवादले गीतको रिलिज तथा फिल्मको प्रचारप्रसारमा कुनै असर पर्ने छैन। नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा सार्वजनिक हुन लागेको ‘माहोल गरम’ गीतले फिल्मको प्रचारप्रसारलाई थप उचाइ दिने अपेक्षा गरिएको छ। गीतको हिन्दी संस्करणमा गायिका शिवानी भगतले नै स्वर दिएकी छन्।
युवा फिल्मकर्मी रोशन दासको लेखन तथा निर्देशनमा तयार भएको ‘प्रतिवैरम्’ पनि नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ आउँदैछ।
फिल्ममा हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माताका रूपमा रहेका छन् भने अनिश पोखरेल सह–निर्माता, बिक्की शाह कार्यकारी निर्माता र राकेश शाह क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्।
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सिम्पल एड मिडिया, श्रीयान इन्टरटेनमेन्ट र आदर्श प्रोडक्सनको सहकार्य रहेको छ।
फिल्ममा नवनायक सम्राट दास र सुप्रज्ञा शर्माका साथै वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, रमेश बुढाथोकी, प्रदीप ढकाल, रोनी यादव, नवीन श्रेष्ठ र नारायण बी.क. लगायतका कलाकारको अभिनय रहेको छ।














