स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेपाली महिलाको संघर्ष र सफलता बोकेको तीज गीत ‘कुरा बुझे बरिलै’ सार्वजनिक


इटहरी। नेपाली महिलाको जीवन, संघर्ष र आत्मनिर्भरताको कथालाई मुख्य विषयवस्तु बनाइएको गायिका ऋचा काफ्लेको नयाँ तीज गीत ‘कुरा बुझे बरिलै’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। इटहरीस्थित गोर्खा होटलमा आयोजित एक विशेष कार्यक्रम तथा पत्रकार सम्मेलनका बीच गीतको विमोचन गरिएको हो।


कार्यक्रममा सञ्चारकर्मी, स्थानीय कलाकार, गीत-संगीत क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। तीज पर्वलाई केवल नाचगान र रमाइलोमा मात्र सीमित नराखी नेपाली महिलाको वास्तविक भोगाइ, पीडा, संघर्ष र सफलताको कथासँग जोडेर प्रस्तुत गर्ने उद्देश्यले गीत निर्माण गरिएको निर्माण पक्षले जनाएको छ। सार्वजनिक भएसँगै गीत युट्युबमार्फत पनि दर्शक-श्रोतामाझ आएको छ।


गीतमा माइतीघरमा सौतेनी आमाबाट भोग्नुपरेको विभेद, कलिलै उमेरमा विवाह गर्नुपरेको बाध्यता र विवाहपछिको पारिवारिक जिम्मेवारीलाई मार्मिक रूपमा उतारिएको छ। कठिन परिस्थितिका बीच पनि आफ्ना सपना नमारेर पढाइलाई निरन्तरता दिँदै आत्मनिर्भर बन्न सफल महिलाको प्रेरणादायी यात्रालाई भिडियोको मुख्य कथावस्तु बनाइएको छ।


दुर्गा पराजुलीको शब्द तथा संगीत रहेको यस गीतमा ऋचा काफ्लेको स्वर र नारायण दङ्गालको संगीत संयोजन छ। नगेन्द्र राईको निर्देशन र कमानसिङ राईको छायांकन रहेको भिडियोमा करिश्मा कटवाल, प्रज्वल काफ्लेका साथै लक्ष्मी डान्स सेन्टरको उत्कृष्ट नृत्य एवं अभिनय देख्न सकिन्छ।


पत्रकार सम्मेलनमा बोल्दै निर्माण पक्षले गीतले तीजको सांस्कृतिक मौलिकतालाई जोगाउँदै महिला सशक्तीकरणको सशक्त सन्देश दिने विश्वास व्यक्त गरेको छ। परम्परागत तीज गीतको घेराभन्दा माथि उठेर समसामयिक सामाजिक यथार्थलाई प्रस्तुत गरिएकाले यस वर्षको तीजमा कुरा बुझे बरिलै’ले दर्शक-श्रोताको विशेष माया पाउने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *