स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

‘ल्याङ्गल्याङ्ग’मा प्रजल दुलाल मुख्य भूमिकामा अनुबन्धित

इटहरी । जेन–जी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्न लागिएको नेपाली सिनेमा ‘ल्याङ्गल्याङ्ग’ मा कलाकार प्रजल दुलाल मुख्य भूमिकामा अनुबन्धित भएका छन्।

सिनेमाका निर्देशक बलिराम चौहानले प्रजललाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका हुन्। प्रजल अनुबन्धित भएसँगै सिनेमाका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताए।

प्रजलले यसअघि ‘बलिदान’, ‘विमान’ र ‘अक्षरा’ लगायतका सिनेमामा अभिनय गरिसकेका छन्। हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’ को छायांकनमा व्यस्त छन्।

इटहरीमा जन्मिएका प्रजलले सानैदेखि रेडियोमा काम गर्दै अभिनय यात्रासमेत अघि बढाएका हुन्। रेडियोमा काम गर्ने क्रममा उनले रंगमञ्चमा प्रवेश गरेका थिए। कलालय इटहरीको स्कुल थिएटरमा गुरु सोनु जयन्ती र प्रज्वल पराजुलीसँग अभिनय सिकेका उनले कलालय इटहरी, आरोहण गुरुकुल, पश्चिम बंगाल भारतसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा दुई दर्जनभन्दा बढी नाटकमा अभिनय, लेखन तथा निर्देशन गरिसकेका छन्।

उनले दर्जनौँ सर्ट फिल्म, म्युजिक भिडियो, सिरिज तथा टिभिसी विज्ञापनमा समेत अभिनय गरेका छन्। त्यसैगरी नीर शाह निर्देशित ‘कमला मिस’ को पटकथा तथा संवाद लेखनमा नीर शाह र सुगम दुलालसँग सहकार्य गरेका छन्।

यसअघि नै सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्। मुख्य अभिनेत्रीका रूपमा गुराँस ढकाल आबद्ध भएकी छन्।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेन–जी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र उनीहरूको मनोविज्ञानलाई कथाको केन्द्रमा राख्ने निर्देशक चौहानले बताए। समसामयिक युवापुस्ताको जीवनशैली र भोगाइलाई पर्दामा उतार्ने तयारीमा निर्माण टिम रहेको छ।

सिनेमा असोजको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ। हाल निर्माण टिम प्रिप्रोडक्सनको काममा व्यस्त छ। कथाको भावअनुसार सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ।

युवा पुस्ताले साथीभाइबीचको दबाब, तनाव तथा विभिन्न परिस्थितिलाई बुझाउन प्रयोग गर्ने ‘ल्याङ्गल्याङ्ग’ शब्दलाई नै सिनेमाको शीर्षक बनाइएको हो। सिनेमाले यही युवा चरित्र, उनीहरूको सम्बन्ध, मनोविज्ञान र दैनिक जीवनका उतारचढावलाई प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ।

सिनेमाको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले लेखेका हुन् भने भोलानाथ कटुवालको लगानी रहनेछ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *