स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कम्फे लिङ्थेप वंशावली तथा संक्षिप्त इतिहास पुस्तक विमोचन

इटहरी । कम्फे लिङ्थेप लिम्बु वंश सेवा समाजको आयोजनामा ‘याक्थुम दोस्रो लिहाङ वंशी कम्फे लिङ्थेप लिम्बु वंशको वंशावली तथा संक्षिप्त इतिहास’ पुस्तक विमोचन गरिएको छ।

शनिबार दुर्गापाटी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपको वरिष्ठ आतिथ्यमा पुस्तक विमोचन गरिएको हो। कार्यक्रमको अध्यक्षता कम्फे लिङ्थेप वंश सेवा समाजका अध्यक्ष बुद्धवीर कम्फे लिङ्थेपले गरेका थिए।

कार्यक्रममा मुन्धुमविद्, विभिन्न पदाधिकारी, बौद्धिक व्यक्तित्व, अग्रज तथा ज्येष्ठ नागरिकसहित कम्फे लिङ्थेप वंशका सदस्यहरूको उपस्थिति थियो। सो अवसरमा वंशका अग्रज तथा ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो।

पुस्तकमा कम्फे लिङ्थेप वंशको उत्पत्ति, ऐतिहासिक पहिचान, यक तथा थातथलो, वंश विस्तार र पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको इतिहासलाई लिखित दस्तावेजका रूपमा समेटिएको छ।

वंशको इतिहासलाई लिखित रूपमा संरक्षण गर्नु नयाँ पुस्तालाई आफ्ना पुर्खा, पहिचान र इतिहासबारे जानकारी गराउने महत्वपूर्ण प्रयास भएको कम्फे लिङ्थेप वंशावली तथा संक्षिप्त इतिहास लेखन तथा प्रकाशन समितिका संयोजक तथा लेखक बद्रिहाङ लिङ्थेपले बताए।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले इतिहास लेख्ने कार्य कहिल्यै नसकिने बताए। उनले पुस्तकलाई ‘संक्षिप्त इतिहास’ भनिएको उल्लेख गर्दै आगामी दिनमा थप अध्ययन र खोज हुँदै जाने बताए।

उनका अनुसार वंशावली निर्माणको उद्देश्य सबै दाजुभाइ तथा पुस्तालाई एउटै ऐतिहासिक सम्बन्धमा जोड्नु हो। “इतिहास लेख्ने काम कहिल्यै सकिँदैन, यो एउटा निरन्तर प्रक्रिया हो,” उनले भने, “अहिले संक्षिप्त इतिहासका रूपमा तयार गरिएको छ। वंशावलीले सबै दाजुभाइलाई एउटै सूत्रमा जोड्ने काम गरेको छ।”

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख परशुराम खापुङले वंशावली सामान्य दस्तावेजजस्तो देखिए पनि यसको महत्व निकै ठूलो हुने बताए। उनले वंशावली निर्माणलाई मानव सभ्यताको खोजी तथा आफ्ना पुर्खा र इतिहासको पहिचान गर्ने महत्वपूर्ण कार्यका रूपमा व्याख्या गरे।

“वंशावली हेर्दा सामान्य जस्तो लागे पनि यसको महत्व गहिरो छ,” प्रदेश प्रमुख खापुङले भने, “यो आफ्ना पुर्खा, इतिहास र पहिचानसँगै मानव सभ्यताको खोजी पनि हो।”

पुस्तकमा कम्फे लिङ्थेप वंशको उत्पत्ति कडभेलुङ वा कम्फेलुङ यकबाट भएको विश्वास गरिएको उल्लेख छ। उक्त क्षेत्र हाल संखुवासभाको चैनपुर नगरपालिका–२ मा पर्ने बताइएको छ।

पुस्तकमा कम्फे लिङ्थेपका पुर्खाहरू लुड्थाकी, चित्लाङ, त्रिम्फोक, वाघा, मावदेन, फावेन, इलामको नाम्सालिङ, धनकुटालगायतका क्षेत्रमा पुगेको उल्लेख गरिएको छ। त्यस्तै आसाम, भुटान र सिक्किममा समेत कम्फे लिङ्थेप वंशको बसोबास रहेको पुस्तकमा उल्लेख छ।

नेपालमा लामो र पृथक इतिहास बोकेका आदिवासी जनजातिमध्ये लिम्बू समुदाय महत्वपूर्ण समुदायका रूपमा रहेको उल्लेख गर्दै आयोजकले विभिन्न वंशको इतिहास, संस्कृति र पहिचानलाई लिखित रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा वंशका सदस्यहरूलाई आफ्नो इतिहास, संस्कृति र पहिचान संरक्षणमा सक्रिय हुन आग्रह गरिएको थियो। कार्यक्रम कम्फे लिङ्थेप वंश सेवा समाजका अध्यक्ष बुद्धवीर कम्फे लिङ्थेपको अध्यक्षतामा सम्पन्न भएको हो।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *