सुन्दरहरैँचा : बलात्कारपछि हत्या गरिएकी बाराको सिमरा निवासी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको न्याय तथा आत्माको चिरशान्तिको कामना गर्दै मोरङको सुन्दरहरैँचा–गछिया चोकमा आइतबार दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
देशमा पछिल्लो समय घटिरहेका अमानवीय तथा जघन्य घटनाप्रति गहिरो दुःख, आक्रोश र चिन्ता व्यक्त गर्दै विभिन्न सामाजिक संघसंस्था, स्थानीयवासी, सामाजिक अभियन्ता तथा न्यायप्रेमी नागरिकहरूको सहभागितामा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा सहभागीहरूले बालिका गरिमामाथि भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै सामाजिक तथा राजनीतिक व्यक्तित्व देवराज तामाङले बालबालिकामाथि हुने यस्ता जघन्य अपराध नियन्त्रणका लागि राज्यले कडा कानुन निर्माण गर्नुपर्ने बताए। उनले गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा सजाय हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरे। अपराधीलाई राजनीतिक संरक्षण वा कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै उनले पीडित परिवारले न्याय पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व भएको बताए।
त्यस्तै, नेपाल आदिवासी जनजाति महासङ्घ, सुन्दरहरैँचा नगर समन्वय परिषद्का अध्यक्ष सुमन याख्खाले गरिमा चौधरीको न्यायका लागि स्थानीयस्तरबाट निरन्तर दबाब सिर्जना गरिने बताए। उनले घटनाको विरोध तथा दोषीलाई कारबाहीको माग गर्दै सोमबार हस्ताक्षर संकलन गरी जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी गरिएको जानकारी दिए। न्यायका लागि नागरिकहरू एकजुट भएर आवाज उठाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापाले समाजमा बढ्दै गएका अमानवीय र आपराधिक घटनाले आम नागरिकमा त्रास सिर्जना गरेको बताए। बालबालिकाको सुरक्षा राज्य र समाज दुवैको साझा जिम्मेवारी भएकाले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कानुनी तथा सामाजिक अभियान आवश्यक रहेको उनको भनाइ थियो। उनले गरिमा चौधरीको न्यायका लागि आफूहरू निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
दीप प्रज्वलनका क्रममा सहभागीहरूले हातमा मैनबत्ती तथा दीप बोकेर गरिमाको सम्झनामा मौनधारण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै, दोषीलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउनुपर्ने मागसहित एकताबद्ध भएर आवाज उठाएका थिए।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय सामाजिक अभियन्ता, उद्योगी–व्यवसायी, महिला तथा युवा प्रतिनिधि, स्थानीयवासी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले बालबालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्याजस्ता जघन्य अपराधविरुद्ध समाज एकजुट हुनुपर्ने बताएका थिए।
आयोजकहरूले गरिमा चौधरीको न्यायको माग केवल एउटा परिवारको विषय नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी भएको बताएका छन्। उनीहरूले अपराधीलाई कानुनी कारबाही नभएसम्म न्यायको आवाज निरन्तर उठाइरहने प्रतिबद्धता जनाएका छन्।
गछिया चोकमा प्रज्वलित गरिएका दीपहरूले गरिमाको न्यायका लागि उठेको नागरिक आवाजलाई प्रतिबिम्बित गरेको थियो। सहभागीहरूले “गरिमालाई न्याय देऊ, दोषीलाई कडा कारबाही गर” भन्ने मागसहित बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन्।














