योगेन्द्र योगी
सुन्दरहरैँचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ सुरु भएको छ।

विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा शुक्रबारदेखि सुरु भएको तालिम शनिबारसम्म सञ्चालन हुनेछ। निजी विद्यालय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा व्यवस्थापन, कम्पनीसम्बन्धी कानुनी प्रक्रिया तथा सामाजिक सुरक्षा कोषका विषयमा सहभागीलाई व्यवहारिक र समसामयिक जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले निजी विद्यालयको शैक्षिक गुणस्तरसँगै संस्थागत तथा प्रशासनिक व्यवस्थापनलाई पनि थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताए। उनले लेखा, कम्पनी व्यवस्थापन तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा विद्यालय सञ्चालक तथा कर्मचारीहरूलाई समयानुकूल ज्ञान र सीप प्रदान गर्न तालिम महत्वपूर्ण हुने बताए।

कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास मन्त्री गीता तिम्सिनाले निजी विद्यालयले नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै विद्यालयको संस्थागत व्यवस्थापन, पारदर्शिता र कानुनी दायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। उनले विद्यालय र राज्यबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षाका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताइन्।

त्यस्तै, विशिष्ट अतिथि नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकालले निजी विद्यालयका संस्थापक तथा नेतृत्व तहमा रहेका व्यक्तिहरूका लागि यस्ता तालिम अत्यन्त उपयोगी हुने बताए। उनले बदलिँदो कानुनी तथा प्रशासनिक व्यवस्थासँगै विद्यालय सञ्चालकहरू पनि निरन्तर अपडेट हुनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका क्रममा नेशनल प्याब्सन कोशी प्रदेशका सचिव सुरेन्द्र चौधरी, सुनसरी जिल्ला संयोजक खगेन्द्र केसी, जिल्ला सचिव भनिरुद्र चौधरी र जिल्ला सदस्य प्रमोद यादवलाई सम्मान गरिएको थियो। त्यसैगरी, पत्रकारिताको माध्यमबाट नेशनल प्याब्सनका गतिविधि तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार योगेन्द्र योगी, एलएन गच्छदार र शिव भट्टराईलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेशनल प्याब्सन मोरङका अध्यक्ष इन्द्रनारायण शाहलगायत नेशनल प्याब्सनका प्रदेश तथा जिल्ला तहका पदाधिकारी, निजी विद्यालयका संस्थापक, प्रिन्सिपल, लेखा प्रमुख तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। दुई दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई लेखा प्रणाली, कम्पनीसम्बन्धी व्यवस्था, सामाजिक सुरक्षा कोषलगायत निजी विद्यालय सञ्चालनसँग प्रत्यक्ष सम्बन्धित विषयमा विज्ञहरूद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया