सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–३ स्थित जुपिटर इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी समीर भुसालले आफ्नै सीप र सिर्जनशीलताको प्रयोग गर्दै तीनपाङ्ग्रे गाडी निर्माण गरेका छन्।
सानैदेखि मेकानिकल कामप्रति रुचि राख्दै आएका समीरले युट्युबमा विभिन्न प्राविधिक भिडियो हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै करिब एक लाख रुपैयाँको लागतमा ‘बग्गी’ नामको तीनपाङ्ग्रे गाडी निर्माण गरेका हुन्।
तीन जनासम्म बस्न मिल्ने गरी तयार पारिएको उक्त गाडीको संरचना निर्माणका लागि आवश्यक फलामका पाइप आफैँ काट्ने, जोड्ने तथा वेल्डिङ गर्ने काम समीरले गरेका हुन्। उनले गाडीको अधिकांश संरचना आफ्नै प्रयासमा तयार पारेका छन्। यद्यपि, गाडीको पूर्ण तयारी भने अझै बाँकी रहेको समीरले बताएका छन्।
समीरका अनुसार आफूलाई सानैदेखि मेसिन तथा विभिन्न यान्त्रिक सामग्री निर्माणमा विशेष रुचि थियो। इन्टरनेट तथा युट्युबबाट आवश्यक जानकारी लिँदै उनले आफ्नो रुचिलाई प्रयोगात्मक रूपमा अघि बढाएका हुन्।
विद्यालयले पनि विद्यार्थीको रुचि र क्षमताअनुसार प्रोत्साहन गर्दै आएको जनाएको छ। विद्यालयका प्रिन्सिपल हरिश्चन्द्र ढकालका अनुसार रोबोटिक्स तथा प्रविधिमा रुचि राख्ने विद्यार्थीलाई विद्यालयले रोबोटिक्स शिक्षकमार्फत आवश्यक ज्ञान, सीप र प्रयोगात्मक अवसर उपलब्ध गराउँदै आएको छ।
समीर विद्यालयको रोबोटिक्स समूहका लिडर समेत हुन्। प्रविधिप्रतिको उनको रुचि र सिर्जनात्मक क्षमतालाई विद्यालयले निरन्तर प्रोत्साहन गर्दै आएको प्रिन्सिपल ढकालले बताए।
बाल दिवसको पूर्वसन्ध्यामा विद्यालयमा आयोजित कार्यक्रममा समीरले आफूले निर्माण गरेको ‘बग्गी’ मा प्रिन्सिपल ढकाललाई राखेर चलाएका थिए। आफ्नै हातले निर्माण गरेको गाडीमा प्रिन्सिपललाई राखेर चलाउँदा समीर उत्साहित देखिन्थे भने विद्यालय परिवारले उनको सिर्जनाको प्रशंसा गरेको थियो।
समीरको यो प्रयासले बालबालिकाभित्र लुकेका प्रतिभा पहिचान गरी उनीहरूको रुचिअनुसार अवसर र प्रोत्साहन दिनुपर्ने आवश्यकता समेत उजागर गरेको छ। किताबमा सीमित ज्ञानभन्दा बाहिर गएर विद्यार्थीले आफ्नै कल्पना, सीप र मेहनतलाई प्रयोगमा उतार्न पाए नयाँ सिर्जना सम्भव हुने उनको उदाहरणले देखाएको छ।
बालबालिकाको रुचि र क्षमता पहिचान गरी अभिभावक तथा विद्यालयले त्यसअनुसार हौसला, प्रेरणा र आवश्यक अवसर प्रदान गर्न सके उनीहरूले भविष्यमा विज्ञान, प्रविधि तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्ने समीरको प्रयासले देखाएको छ।







