इटहरी l इटहरीलाई कला, साहित्य र संस्कृतिको जीवन्त सहरका रूपमा विकास गर्न स्थानीय तहले स्पष्ट नीति, कानुन, संरचना र दीर्घकालीन योजना बनाउनुपर्नेमा कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीहरूले जोड दिएका छन्। संगीत साधना प्रतिष्ठान इटहरीले आयोजना गरेको जीवन्त इटहरी : कला, साहित्य, संस्कृतिमा समृद्धि विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले इटहरीको समृद्धि केवल सडक, भवन र भौतिक पूर्वाधारले मात्र नहुने, कला, साहित्य र संस्कृतिको विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।
मोहन तिम्सिनाले नगरवासीका रूपमा अधिकारसँगै अवसर पनि रहेको भन्दै त्यसको सदुपयोग गर्नुपर्ने बताए। उनले कला, साहित्य र संस्कृतिसम्बन्धी नगरस्तरीय ऐन निर्माण गर्नुपर्ने, आवश्यक संस्था र संरचनाको किटान गरेर कार्यान्वयनमा जानुपर्ने तथा इटहरीमा नागरिक तहबाट यस क्षेत्रमा काम भइरहेको उल्लेख गरे।
सुबोध केसीले इटहरीको मौलिक कला र संस्कृतिको इतिहास झल्किने मूर्ति, कार्यशाला र संग्रहालय निर्माण गर्नुपर्ने धारणा राखे। इटहरी कला–साहित्यको राजधानी हो भन्ने अनुभूति गर्दै संयुक्त मञ्च निर्माण, कला–साहित्य प्रज्ञा प्रतिष्ठान स्थापना, नियमित साहित्यिक महोत्सव आयोजना तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कलाकार र साहित्यकारलाई इटहरीमा ल्याउनुपर्ने बताए। रैथाने खेल, कला र पर्यटनको प्रवर्द्धनमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।
दिनेश कोइरालाले इटहरीलाई चलचित्रकर्मीहरूको केन्द्रका रूपमा विकास गर्न सकिने बताए। चलचित्रकर्मीका लागि आवश्यक स्थानको माग लिएर जनप्रतिनिधिसम्म पुगे पनि त्यसतर्फ काम हुन नसकेको गुनासो गरे।
सुबास गौतमले डिजिटल युगमा बाँचिरहेका भए पनि पठन संस्कृतिको विकासका लागि सामान्य पूर्वाधारसमेत नभएको बताए। इटहरीमा व्यवस्थित पुस्तकालय नहुँदा पठन संस्कृतिको पुनरुत्थान आवश्यक देखिएको भन्दै यसमा सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे।
घनश्याम बरालले संगीत साधना भवन जनताको चाहनाबाट बनेको उदाहरण भएको उल्लेख गर्दै इटहरी कला क्षेत्रमा धनी रहेको बताए। कला प्रदर्शनी, कला संग्रहालय र कला घर निर्माण गरेर कलाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव थियो।
तेजनारायण चौधरीले चितवनले थारू संस्कृतिलाई स्थान दिएको उदाहरण प्रस्तुत गर्दै संस्कृतिविना कुनै पनि सहरको पहिचान नबन्ने बताए। तथ्यमा आधारित भएर कला र संस्कृतिको अभिलेखीकरण तथा संरक्षण गर्नुपर्ने र एक–अर्कालाई निषेध गर्ने प्रवृत्ति अन्त्य गरी सहकार्यमा अघि बढ्नुपर्ने धारणा राखे। इटहरीलाई तोरीबारी होइन, फूलबारीजस्तो बनाउनुपर्ने उनको भनाइ थियो।
रेवती घिमिरेले इटहरीको विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित राख्न नहुने बताइन्। विद्यालयदेखि विश्वविद्यालयसम्म कला, संस्कृति र साहित्यलाई प्राथमिकतामा राख्नुपर्ने, स्थानीय सरकारले कलाकार र साहित्यकारलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा युवा पुस्तालाई आफ्ना भाषा, संस्कृति र साहित्यसँग जोड्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्। डिजिटल युगमा इटहरीको कला, संस्कृति र साहित्यलाई विश्वसामु पुर्याउने रणनीति आवश्यक रहेको उनको भनाइ थियो।
मनु मञ्जिलले ‘ग्रेटर इटहरी’ भन्ने नाराको अर्थ केवल भवन र सडकले नबन्ने बताए। राम्रो कवि, संगीतकार र सर्जक उत्पादन गर्न सक्ने क्षमता भए मात्र सहर महान् बन्ने उनको तर्क थियो। सरकारबाट अपेक्षा राखिए पनि नागरिक आफैंले पुस्तकालय निर्माणदेखि सांस्कृतिक गतिविधि सञ्चालनसम्मका काम गर्न सक्ने उदाहरण उनले दार्जिलिङको अनुभवमार्फत प्रस्तुत गरे। इटहरीका प्रदर्शनीमा स्थानीय कलाकारका चित्रकला राख्नुपर्ने, सार्वजनिक स्थान र रेस्टुरेन्टमा इटहरीकै संगीत बज्नुपर्ने तथा नयाँ कलाकारलाई अवसर दिनुपर्ने धारणा राखे।
शिव डाँगीले सहरको विकासलाई भौतिक पूर्वाधारले मात्र नाप्ने प्रवृत्ति रहेको भन्दै कला, साहित्य र संस्कृतिलाई पनि विकासको सूचकका रूपमा लिनुपर्ने बताए। साहित्य र कला विश्वविद्यालयभन्दा पनि जनताको बस्तीबाट जन्मिने भन्दै इटहरीको सांस्कृतिक विविधतालाई समेट्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
मोहन तुम्बाङले कला, साहित्य र संस्कृतिप्रति माया, जिम्मेवारी, सम्मान र ज्ञान आवश्यक पर्ने बताए। कुनै क्षेत्रलाई माया गर्ने हो भने त्यसप्रति चासो, दायित्वबोध र विकासको ज्ञान हुनुपर्ने उनको धारणा थियो।
कृष्णविनोद लम्सालले इटहरीको कला, साहित्य र संस्कृतिको विकासका लागि विभिन्न प्रयास भइरहे पनि नयाँ पुस्तालाई के दिन सकियो भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताए। पालिकाले कला–साहित्य प्रतिष्ठान बनाए पनि पर्याप्त बजेट नदिँदा काम गर्न कठिन भएको उनको भनाइ थियो। पुरानो संस्था राजा क्लबलाई पुनः सक्रिय बनाउनुपर्ने र सांस्कृतिक भवनमाथिको सरकारी नियन्त्रण हटाएर सांस्कृतिक गतिविधिका लागि खुला गर्नुपर्ने सुझाव दिए।
सरोज श्रेष्ठले हिपहप, ब्रेकडान्स र र्यापमा संलग्न युवाहरूलाई पनि सांस्कृतिक अभियानमा समेट्नुपर्ने बताए। युवाहरूका कार्यक्रमहरूमा अग्रज पुस्ताको सहभागिता कम हुने गरेको उल्लेख गर्दै हिपहप पार्क निर्माण गरेर युवा प्रतिभालाई स्थान दिनुपर्ने धारणा राखे।
तीर्थकुमार धवाकुले पुराना गीतहरूको संकलन गर्नुपर्ने, सबै प्रकारका कलाकारलाई समेट्नुपर्ने तथा विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीच सांस्कृतिक आदानप्रदान बढाउनुपर्ने बताए।
गायत्री लम्सालले हिजोको इटहरी नीरस भए पनि अहिले सहर बन्न थालेको बताइन्। साहित्यकार र कलाकारले आर्थिक सहयोग दिने पक्षकै मात्र पक्षपोषण गर्न नहुने भन्दै कला–साहित्यको विकासमा पारदर्शिता आवश्यक रहेको धारणा राखिन्। कलाकार र सर्जकहरू जोखिममा रहेको, संस्थागत कमजोरी र विभाजन समस्या बनेको तथा पर्याप्त जनशक्ति र स्रोत हुँदाहुँदै पनि योजनाबद्ध काम हुन नसकेको बताइन्। एक करोड रुपैयाँ मात्र प्रभावकारी रूपमा खर्च गर्न सकिए पनि धेरै काम गर्न सकिने र सक्षम व्यक्तिलाई जिम्मेवारी दिएर मास्टरप्लानका आधारमा अघि बढ्नुपर्ने सुझाव दिइन्।
रामसागर चौधरीले इटहरीको नामकरण र इतिहासबारे चर्चा गर्दै यो क्षेत्र पहिले थारू समुदायको भूमि रहेको बताए। थारूलाई पहिलो नागरिक घोषणा गरिए पनि त्यसअनुसार काम नभएको, ग्रामथानहरू संरक्षणविहीन बन्दै गएको तथा पुरातत्व विभागमार्फत थप अध्ययन हुनुपर्ने धारणा राखे। स्थानीय स्थानहरूको वास्तविक नाम संरक्षण गर्नुपर्ने र सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यले लगानी गर्नुपर्ने बताए।
प्रज्वल पराजुलीले संगीत, साहित्य र कलामा नयाँ पुस्तालाई पुरानो पुस्तासँग जोड्नुपर्ने बताए। छलफलभन्दा पनि कार्यान्वयन र सिर्जनात्मक कर्म आवश्यक रहेको उल्लेख गर्दै सिर्जनाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने धारणा राखे।
हेम घिमिरेले कला, साहित्य र संस्कृतिलाई समाजको ऐना भन्दै स्रष्टाहरूलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए। स्थानीय सरकारले गर्न नसके नागरिक आफैं सक्रिय हुनुपर्ने र सर्जकलाई हौसला दिनुपर्ने उनको भनाइ थियो।
कृष्ण अधिकारीले साहित्यिक कार्यक्रमहरूले इटहरीलाई सभ्य र सांस्कृतिक सहर बनाउन मद्दत गर्ने बताए। इटहरीको मौलिक कला र संस्कृतिको खोजी पुराना बस्ती र समुदायसम्म पुगेर गर्नुपर्ने उनको धारणा थियो। पुस्तकालय र काव्यवाटिका जस्ता संरचनाहरू संरक्षण गर्न नसकिएकोमा उनले दुःख व्यक्त गरे।
भीमा राईले विद्यालयमा संगीत विषय समावेश भए पनि दक्ष शिक्षक र आवश्यक पूर्वाधारको अभाव रहेको बताए। इटहरीमा नियमित नाटक प्रदर्शन गर्न सकिने स्थान र संग्रहालयको आवश्यकता रहेको तथा अनुसन्धानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे।
सूर्यप्रसाद चौलागाईंले कला, साहित्य र संगीतलाई पाठ्यक्रममा समावेश गर्न दबाब दिनुपर्ने बताए। इटहरीलाई माया गर्ने व्यक्तिहरूलाई स्थानीय सरकारसम्म पुर्याउनुपर्ने उनको भनाइ थियो।
रमेश पोखरेलले इटहरीभित्रका कला, साहित्य र सांस्कृतिक सम्पदाको सूचीकरण, तथ्यांक संकलन र अभिलेखीकरण आवश्यक रहेको बताए।
रमेश खत्रीले इटहरीलाई जीवन्त सहर बनाउने अभियानमा कला, साहित्य र संस्कृतिको महत्त्वपूर्ण भूमिका रहेको बताए। इतिहासको गहिराइसम्म पुगेर अध्ययन गर्नुपर्ने र युवाहरूलाई जोड्न नसके पुस्तान्तरण सम्भव नहुने धारणा राखे। स्थानीय तहले इटहरीलाई संगीत र साहित्यको सहरका रूपमा पहिचान दिन सक्नुपर्ने उनको भनाइ थियो।
बालकृष्ण सिग्देलले थिएटर निर्माणको कुरा धेरै उठ्ने भए पनि त्यसलाई कसले र कसरी कार्यान्वयन गर्ने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए। संगीत साधना प्रतिष्ठानको संरचना सुदृढ बनाएपछि पुस्तकालयदेखि अन्य कामहरू चरणबद्ध रूपमा गर्न सकिने र उच्च तहसम्म अध्ययन–अध्यापनको वातावरण बनाउनुपर्ने धारणा राखे।
राजु केसीले संगीत साधना प्रतिष्ठान स्थापना गर्न सुरुका दिनमा पर्याप्त पहुँच नभए पनि निरन्तर प्रयास जारी राखिएको बताए। संस्कृति मन्त्रालयका विभिन्न नेतृत्वसँग बजेटका लागि पहल गरेको अनुभव सुनाउँदै उनले कला, साहित्य र संस्कृतिको क्षेत्रमा जनस्तरबाट धेरै काम भएको बताए। संस्कृति संरक्षणमा लगानी आवश्यक रहेको र प्रत्येक व्यक्तिले आफूले के गर्न सक्छु भनेर सोच्नुपर्ने उनको भनाइ थियो। नीति बने पनि कार्यान्वयन कमजोर रहेको भन्दै सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा उनले जोड दिए।













