स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

काठमाडौंमा चर्चित बनेको नाटक ‘पापशाला’ अब इटहरीमा, साउन ३ र ४ गते चार शो

इटहरी । काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको चर्चित नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको छ।

विश्व आदर्श कलेजको सहकार्य तथा एस. क्यु. सि. ग्रुपको आयोजनामा साउन ३ र ४ गते (आइतबार र सोमबार) इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे र दिउँसो ३ बजे गरी दैनिक दुई–दुई शो प्रस्तुत गरिने आयोजकले जनाएको छ।

काठमाडौंमा भएको मञ्चनमा चर्चित अभिनेत्री रिचा शर्मा, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, साहित्यकार सुरज सुवेदी लगायत साहित्य, कला र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नाटकले दर्शकबाट समेत अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै उल्लेखनीय चर्चा बटुलेको थियो।

विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालका अनुसार नाटकका अधिकांश कलाकार ‘कलालय इटहरी’मार्फत सक्रिय रङ्गकर्ममा आबद्ध रहेकाले आफ्नै भूमिमा ‘पापशाला’ मञ्चन हुनु विशेष अर्थपूर्ण छ। स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभाको प्रस्फुटन गराउने तथा इटहरीको रङ्गमञ्चलाई थप जीवन्त बनाउने उद्देश्यले सम्पूर्ण नाट्य टोलीलाई इटहरी आमन्त्रण गरिएको उनले बताए।

‘पापशाला’ विश्वप्रसिद्ध फ्रान्सेली अस्तित्ववादी दार्शनिक जाँ–पल सार्त्रको चर्चित नाटक ‘No Exit’ (Huis Clos) को नेपाली रूपान्तरण हो। नेपाली परिवेश, पात्र र समाजको मनोविज्ञानलाई केन्द्रमा राखेर गरिएको यस रूपान्तरणले मौलिक स्वाद दिएको लेखक सुगम दुलालले बताएका छन्।

उनका अनुसार नाटक तीन जना मृत व्यक्तिहरू एउटै बन्द कोठामा थुनिएको अवस्थाबाट सुरु हुन्छ। समय बित्दै जाँदा उनीहरूले आफ्नो सबैभन्दा ठूलो यातना कुनै शारीरिक पीडा नभई एक–अर्काको उपस्थितिमै रहेको अनुभूति गर्छन्। यही मनोवैज्ञानिक द्वन्द्व र अस्तित्वको खोज नै नाटकको मुख्य कथावस्तु हो।

निर्देशक प्रजल दुलालका अनुसार नेपाली परिवेशमा ढालिएको यो प्रस्तुतीकरणले दर्शकलाई कथा सहज रूपमा आत्मसात् गर्न मद्दत गर्नेछ। नाटकले मानिसको स्वतन्त्रता, जिम्मेवारी, आत्मपहिचान तथा अरूको दृष्टिले हाम्रो अस्तित्व कसरी परिभाषित हुन्छ भन्ने गहिरो अस्तित्ववादी प्रश्न उठाएको उनले बताए।

आफ्नै रङ्गकर्मको थलो इटहरीमा दर्शकमाझ उभिन पाउँदा सम्पूर्ण नाट्य टोली उत्साहित रहेको जनाउँदै उनीहरूले कला, साहित्य र नाटकप्रेमी, पत्रकार, व्यवसायी, अभियन्ता तथा सम्पूर्ण नगरवासीलाई नाटक हेर्न आग्रह गरेका छन्।

नाटकमा अबिन ठटाल, लुमन्ती महर्जन, सुगम दुलाल र प्रजल दुलालको अभिनय रहेको छ। संगीत विश्वकर्माको संगीत, सुरभी प्याकुरेलको गायन तथा कार्भिका पोखरेलको सिर्जनात्मक निर्देशन रहेको यस नाटकलाई सुगम दुलालले नेपाली रूपान्तरण गरेका हुन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *