स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुकुना मावि यौन दुर्व्यवहार आरोप: एक जना पक्राउ, अन्य आरोपीको खोजी तीव्र

सुन्दरहरैंचा | मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा केही शिक्षकबाट छात्रामाथि यौन दुर्व्यवहार भएको आरोपपछि घटनाको अनुसन्धान तीव्र बनाइएको छ। प्रहरीले यस प्रकरणमा एक जनालाई पक्राउ गरिसकेको छ भने अन्य आरोपितहरूको खोजी तथा ट्र्याकिङ जारी रहेको जनाएको छ।

यस घटनाबारे आफूले फिल्डमा खटिएका सुरक्षाकर्मी तथा प्रशासनसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको मोरङ क्षेत्र नम्बर–३ का संघीय सांसद गणेश कार्कीले जानकारी दिएका छन्।

सांसद कार्कीका अनुसार, घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परिसकेका छन् भने अन्य आरोपितहरूको पनि खोजी भइरहेको छ। उनीहरूलाई छिट्टै पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने जानकारी सम्बन्धित निकायबाट प्राप्त भएको उनले बताएका छन्।

उनले कानुनी प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई संयमित र शान्त रहँदै अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

सांसद कार्कीले पीडित विद्यार्थीको न्याय, सुरक्षा तथा दोषीमाथि हदैसम्मको कानुनी कारबाही सुनिश्चित गर्न आफूले सम्बन्धित निकायसँग निरन्तर समन्वय, सहयोग र ताकेता गरिरहेको पनि बताएका छन्।

घटनाप्रति स्थानीय समुदाय, अभिभावक तथा विद्यार्थीहरूले गम्भीर चासो व्यक्त गरिरहेका छन्। सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही हुने विश्वास व्यक्त गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *