स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सत्य स्थापित होस्, पीडितले न्याय पाऊन्, निर्दोषमाथि अन्याय नहोस् ।

मोरङ | सुकुना माध्यमिक विद्यालयसँग सम्बन्धित विषय अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ। यस विषयमा सत्य तथ्य बाहिर आउनुपर्छ भन्ने चाहना हामी सबैको हो। हामी त्यसै विद्यालयमा पढाइरहदा पनि कति विषय जानकारी नभएको विषयहरू बाहिर आएका छन् , यो अनविज्ञताका लागि म/हामी पनि दु:खी छौँ । यदि शिक्षक तथा कर्मचारीले गल्ती गरेका भएमा प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान होस् र दोषी प्रमाणित हुने जोसुकैले पनि कानुनअनुसार कारबाही भोगोस् भन्नेमा हामी सहमत छौँ । यसमा दुई मत हुन सक्दैन। तर अनुसन्धान जारी रहेको अवस्थामा अन्धाधुन्द नाम जोडेर, बोल्ने भनेर मानिसलाई उत्तेजित बनाउने गरी विषयलाई झन जटिल र बिध्वंशात्मक दिशातर्फ लैजानु पनि हुदैन ।

आधारहीन सूचना, अपुष्ट आरोप, सम्पादित स्क्रिनसट वा अनुमानका आधारमा सामग्री सार्वजनिक गर्नु उचित होइन । एकपक्ष गोप्य रहेर अर्को पक्ष नामसहित सार्वजनिक गर्दा भोली न्याय पाउदा सामाजिक इज्वत समेत गुम्ने अवश्था बनाउनु हुदैन । हाल विद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षा गर्नु विद्यालयको कर्तव्य हो तर पुराना र पूर्व विद्यार्थीले स्वयम् प्रमाण भएर कानुनी उपचारमा जान पनि सक्नु हुन्छ । धेरै पुराना र थाहा नभएका विषयलाई अहिले छानविन गर्ने विद्यालयले विद्यालयसँग त्यस्तो निकाय मैले बुझेकी पनि छैन, याे विद्यालयका लागि जटिल कार्य हाे ।

कतिपय सवाल पहिला भएका तर पिडित पक्षले चित्त बुझाएर पुन: बल्झाइएका जस्ता पनि छन् । अहिले लगातार देशभरका अन्य विद्यालयका वा धेरै नै पुरान विषयहरू समेत सार्वजनिक हुदा सबै शिक्षकहरू त्रसित समेत भएका छौँ । त्यस पक्षतर्फ ध्यान पुर्याउदै भोली कक्षामा कसरी जाने वातावरण बनाउने र अवका दिनमा विद्यालय कसरी सुरक्षित बनाउने भन्नेतिर सबैको ध्यान पुगोस भनि अनुरोध समेत गर्न चाहान्छु । दोषी खोज्दा निर्दोष व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ, मानसिक रूपमा विक्षिप्त बनाउन सक्छ, र कतिपय अवस्थामा निर्दोष मानिसले अत्यन्त दुःखद निर्णय लिन बाध्य पार्ने जोखिमसमेत हुन सक्छ। त्यसैले प्रत्येक शब्द र प्रत्येक पोस्टप्रति हामी सबै संवेदनशील हुन आवश्यक छ।

अर्कोतर्फ, एउटा संस्थाको गरिमा पनि समाजको साझा सम्पत्ति हो। वर्षौँदेखि हजारौँ विद्यार्थी उत्पादन गरेको, समाजमा योगदान दिएको विद्यालयको प्रतिष्ठा कुनै एक घटनाका कारण अनावश्यक रूपमा ध्वस्त हुने कुराले पनि वर्तमान विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक र समग्र समुदायलाई पनि असर गरिरहेको छ । कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । अब सत्य स्थापित गर्ने जिम्मा सम्बन्धित निकायको हो । विद्यालयले त्यसलाई सहजिकरण गरिदिनुपर्छ । त्यसैले कृपया प्रमाणित तथ्य र भरपर्दा सूचनामात्र सार्वजनिक गरौँ । न्यायको पक्षमा उभिनु र अफवाह नफैलाउनु एकअर्काका विरोधी कुरा होइनन्; बरु दुवै जिम्मेवार नागरिकको कर्तव्य हुन्।

विशेष अनुरोध S/K/N Confession & Meme समूहका एडमिन तथा सदस्यहरू गोप्य समूह भएको बुझिन्छ । यो गोप्य समूह पनि खुलेर कानुनी प्रक्रियामा तयार हुन आवश्यक ठान्दछु । गोप्य समूह कसले चलाउँनुहुन्छ ? उसको आधिकारिकता कति छ ? विद्यालयमा आएर कुरा किन राखिरहनु भएको छैन ? कहाँबाट , कसरी जानकारीहरू सङ्कलन गर्दै हुनुहुन्छ ? तपाईं को हुनुहुन्छ ? हामीले जानकारी पाउनु पर्दैन र ? जस्ता अनुत्तरित सवालहरू समेतले हामी स्तव्ध छौँ ।

यदि विद्यालयसँग सम्बन्धित कुनै गम्भीर विषय उठेको छ भने, एकतर्फी स्क्रिनसट र विना नामका सन्देशहरू निरन्तर सार्वजनिक गर्नुको सट्टा विद्यालय प्रशासन, सम्बन्धित पक्ष र सरोकारवालासँग प्रत्यक्ष संवाद (face-to-face talk) गर्ने प्रयास पनि सकारात्मक कदम हुन सक्छ । संवादले धेरै भ्रम हटाउन, सत्य स्थापित गर्न र न्यायको वातावरण बनाउन सहयोग पुर्‍याउँछ। अर्को तर्फ विद्यालय प्रशासनले पनि विद्यार्थीका (मूलतः छात्राहरूका र अभिभावकहरूका समेत ) गुनासालाई सहज रूपमा सुन्ने, सहजिकरण गर्ने र सचेत गराउन भरपर्दो महिला सहजकर्ता सहितको संयन्त्र बनाउन आवश्यक देखिन्छ जसले सम्भाव्य जोखिमलाई घटाओस, हटाओस र आवश्यक परेमा कानुनी सहजताका लागि बाटो खुल्ला गरोस ।
हामी सबैको उद्देश्य एउटै हो ,सत्य स्थापित होस्, पीडितले न्याय पाऊन्, निर्दोषमाथि अन्याय नहोस्, र समाजमा जिम्मेवार सूचना प्रवाहको संस्कृतिको विकास होस्।
शिक्षक: धर्मकुमारी कालाखेती
सुकुना मा वि

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *