इटहरी । एनआइसी एसिया बैंकले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत इटहरी उपमहानगरपालिका–२, शान्तिनगरस्थित महेन्द्र माध्यमिक विद्यालयलाई कम्प्युटर तथा ल्यापटप सहयोग गरेको छ।
विद्यालयको सूचना प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले ४ थान डेस्कटप कम्प्युटर र २ थान ल्यापटप हस्तान्तरण गरेको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा एनआइसी एसिया बैंकका इटहरी प्रदेश प्रमुख विशाल घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र घिमिरे, प्रधानाध्यापक मेदनकुमार घिमिरे, पूर्वविद्यार्थी समाजका उपाध्यक्ष पवन अधिकारी तथा बैंकको तरहरा शाखाका प्रबन्धक सन्देश भण्डारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा बैंकका प्रतिनिधिले गुणस्तरीय शिक्षाको विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालयलाई आवश्यक सामग्री सहयोग गरिएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र घिमिरे र प्रधानाध्यापक मेदनकुमार घिमिरेले सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले विद्यालयको पठनपाठन तथा डिजिटल शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनीहरूले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुदृढ बनाउन सरकारी निकायसँगै निजी क्षेत्र, सामाजिक संस्था र पूर्वविद्यार्थीको समेत सहकार्य आवश्यक रहेकोमा जोड दिए।
एनआइसी एसिया बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।














