स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन पढाइ, विद्यार्थीको आकर्षण बढ्दो

इटहरी । इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट तथा ब्युटिसियन एन्ड हेयर डिजाइन विषयको अध्ययन–अध्यापन सुरु गरेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

रोजगारमुखी तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालयले नयाँ विषय सञ्चालनमा ल्याएको हो। विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गरेको छ।

विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले विद्यार्थीलाई सीप, ज्ञान र व्यवहारिक क्षमतासहित सक्षम बनाउने उद्देश्यले रोजगारसँग जोडिएका विषयलाई प्राथमिकता दिइएको बताए।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले सरकारी विद्यालयले समयअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्दै विद्यार्थीलाई सीप र प्रविधिसँग जोड्नुपर्ने बताइन्। उनले प्राविधिक तथा व्यावसायिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्टका निवर्तमान डिन प्राध्यापक डाक्टर सन्देशदास श्रेष्ठ, जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुली, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ तथा ब्यूटिसियन बिजुबैनी श्रेष्ठले विद्यार्थीलाई शिक्षा, उद्यमशीलता, खेलकुद तथा व्यावसायिक सीपका क्षेत्रमा रहेका अवसरबारे प्रेरणादायी सुझाव दिएका थिए।

कार्यक्रममा विद्यालयमा अध्ययन गरी हाल विभिन्न सरकारी निकायमा कार्यरत पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा इटहरी–४ का प्राविधिक युवराज तिवारी, ग्रामथान गाउँपालिका मोरङकी प्राविधिक वर्षा ढकाल, इटहरी–१ की प्राविधिक रोजिना श्रेष्ठ, चौदण्डीगढी गाउँपालिका उदयपुरका प्राविधिक सुजन मगर, इटहरी–२० की प्राविधिक दिपा भण्डारी, इटहरी–१२ की प्राविधिक पूजा सिवा तथा राष्ट्रिय वाणिज्य बैंक धरानमा कार्यरत चिरञ्जीवी खतिवडा रहेका छन्।

यस्तै, शैक्षिक सत्र २०८२ मा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो। कम्प्युटर विज्ञानतर्फ आयुष खतिवडाले ३.८१ जिपिए, व्यवस्थापन अंग्रेजी माध्यमतर्फ अनुसा रिजालले ३.६५ जिपिए र कम्प्युटर विज्ञानतर्फ आशिका प्रधानले ३.६० जिपिए प्राप्त गरेका थिए।

विद्यालयले अनुशासन, नियमित उपस्थिति, उत्कृष्ट अध्ययन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत सम्मान गरेको छ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विज्ञान, शिक्षा, व्यवस्थापन, होटल म्यानेजमेन्ट तथा ब्युटिसियन समूहका ३७५ जना विद्यार्थीको १८औँ ब्याज स्वागत गरिएको थियो। त्यस्तै, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष अध्ययन पूरा गरेका २३ जना विद्यार्थीको आठौँ ब्याज बिदाइ गरिएको थियो।

कक्षा १२ शिक्षा समूहकी दृष्टि तिवारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इटहरी–१ का वडाध्यक्ष रतन कार्कीसहित विभिन्न व्यक्तित्वले मन्तव्य राखेका थिए। कार्यक्रम अतिरिक्त क्रियाकलाप समितिका संयोजक रोबनराज कार्कीले सञ्चालन गरेका थिए।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *