धनकुटा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्र (CEPP) को सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेमा क्षमता विकास तथा तीन वर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ।
नाम्जे थुम्की सामुदायिक होमस्टेमा उद्घाटन गरिएको कार्यक्रममा शिक्षा विकास निर्देशानलय धनकुटाका निर्देशक कृष्ण प्रसाद पोखरेलको प्रमुख अतिथि तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने कार्यशालामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको भूमिका, शिक्षा सेवा प्रणाली र महासंघको आगामी रणनीतिका विषयमा छलफल तथा अन्तरक्रिया भइरहेको छ।
कार्यशालाको पहिलो दिन राज्यको शिक्षा सेवा प्रणाली, शिक्षकको अवधारणा तथा प्रयोजन र गुणस्तरीय शिक्षाका विषयमा छलफल, सामुदायिक विद्यालय र विद्यालय व्यवस्थापन समितिको भूमिकाबारे अन्तरक्रिया तथा महासंघको परिचय र उद्देश्यबारे प्रस्तुतीकरण गरिएको छ।
सामुदायिक विद्यालय सुधारमा महासंघले गर्न सक्ने भूमिका, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीचको सहकार्य तथा आगामी तीन वर्षका लागि रणनीतिक योजना निर्माण लगायतका विषयमा समूहगत छलफल र प्रस्तुतीकरण गरिने अध्यक्ष काशीनाथ दंगालले बताउनुभयो ।
कार्यशालामा सुदुरपश्चिम देखि देशभरका
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यशालाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि महासंघको आगामी कार्यदिशा र प्राथमिकता तय गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।














