इटहरी । नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (NELTA) कोशी प्रदेशको अध्यक्षमा रविन्द्र बराल (रविन) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
मोरङको सुन्दरहरैँचा स्थित गोदावरी रिसोर्टमा आयोजित पाँचौँ NELTA Koshi Province Leadership Symposium (नेतृत्व सम्मेलन) का क्रममा बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । बराल यसअघि NELTA कोशी प्रदेशको महासचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश सिंह, उपाध्यक्षमा राजेन्द्र बराल, महासचिवमा केशव उप्रेती, सचिवमा नारायण सुवेदी, सदस्यता सचिवमा रुद्रबहादुर थापा र कोषाध्यक्षमा कमलराज दाहाल चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा मुना बज्रगाईँ, सन्तबहादुर तामाङ, पुरुषोत्तम सापकोटा, ईश्वरकुमार लम्साल, गोविन्द खनाल, साजन चौधरी, इन्द्रबहादुर चौहान, प्रकाश पराजुली, तीर्थमान राई, हरिचन्द्र लावती, हरिप्रसाद पौडेल, जीवन भट्टराई, गोपाल बस्नेत र खगेश्वर घिमिरे चयन हुनुभएको छ । नयाँ कार्यसमिति २१ सदस्यीय रहेको छ ।
नयाँ नेतृत्व चयनसँगै अघिल्लो कार्यसमितिले अघि बढाएका महत्वपूर्ण काम तथा उपलब्धिलाई निरन्तरता दिँदै NELTA कोशी प्रदेशका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । अघिल्लो कार्यसमितिले अंग्रेजी भाषा शिक्षकहरूको पेशागत विकास, क्षमता अभिवृद्धि, तालिम, कार्यशाला तथा विभिन्न शैक्षिक गतिविधिमार्फत संगठनलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष बरालले अघिल्लो कार्यसमितिले सुरु गरेका महत्वपूर्ण कामलाई निरन्तरता दिँदै कोशी प्रदेशमा अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षकहरूको पेशागत क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
उहाँले कोशी प्रदेशका अंग्रेजी भाषा शिक्षकहरूलाई एकताबद्ध गर्दै उनीहरूको पेशागत विकास, क्षमता अभिवृद्धि तथा अनुभव आदान–प्रदानका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
अध्यक्ष बरालले NELTA का गतिविधिलाई प्रदेशका सबै जिल्लासम्म विस्तार गर्दै शिक्षक, विद्यालय तथा विद्यार्थीको शैक्षिक सुधारमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।नवनिर्वाचित कार्यसमितिले अंग्रेजी भाषा शिक्षणका क्षेत्रमा देखिएका चुनौती पहिचान गरी तालिम, कार्यशाला, अनुसन्धान तथा विभिन्न शैक्षिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
नयाँ नेतृत्वले अघिल्लो कार्यसमितिको अनुभव र उपलब्धिलाई आत्मसात् गर्दै संगठनलाई थप बलियो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नयाँ कार्यसमिति चयनसँगै कोशी प्रदेशमा अंग्रेजी भाषा शिक्षकहरूको पेशागत संगठनलाई थप सक्रिय बनाउँदै अंग्रेजी भाषा शिक्षणको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।














