इटहरी । सुनसरी जिल्लाका युवालाई उद्यमशीलतासम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्ने उद्देश्यले ‘जेनबिज सुनसरी युवा उद्यमशीलता बुटक्याम्प शृङ्खला’ सञ्चालन हुने भएको छ।
लक्ष्यदीपको आयोजनामा युरोपेली संघको आर्थिक सहयोग तथा ग्लोबल युथ मोबिलाइजेसनअन्तर्गतको युवा सशक्तीकरण कोषको साझेदारीमा कार्यक्रम सञ्चालन हुन लागेको हो। सुनसरीका १२ वटै स्थानीय तहका युवालाई लक्षित गरिएको कार्यक्रममा ६० जना युवा सहभागी हुनेछन्।
विशेषगरी प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि लक्षित कार्यक्रम १० सातासम्म प्रत्येक शनिबार इटहरीमा प्रत्यक्ष कक्षा सञ्चालन गरिने आयोजक संस्थाकी जानुका शर्माले जानकारी दिइन्।
कार्यक्रमको अभिमुखीकरण भदौ ६ गते र पहिलो प्रशिक्षण कक्षा भदौ ७ गतेदेखि सुरु हुनेछ।
बुटक्याम्पमा सहभागी युवालाई उद्यमशील सोचको विकास, समस्या तथा व्यावसायिक अवसरको पहिचान, व्यावसायिक विचारको परीक्षण, ग्राहकको आवश्यकता बुझ्ने, व्यवसायको प्रारूप निर्माण, बजार अध्ययन, ब्रान्ड निर्माण, बजार प्रवद्र्धन तथा बिक्री, वित्तीय योजना र बजेट निर्माणलगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइनेछ।
त्यस्तै, व्यवसाय सञ्चालन तथा व्यवस्थापन, व्यवसाय विस्तारको रणनीति, अनुभवी व्यक्तिबाट परामर्श, सहकर्मीबाट सिकाइ, सम्बन्ध विस्तार तथा व्यावसायिक विचारलाई परिष्कृत गरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा समेत प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा व्यावसायिक विचार प्रस्तुतीकरण प्रतियोगिता आयोजना गरिनेछ। सहभागी युवाले प्रशिक्षणका क्रममा विकास तथा परिष्कृत गरेका आफ्ना व्यावसायिक विचार प्रतियोगितामा प्रस्तुत गर्नेछन्।
कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। कार्यक्रम पूरा गरेपछि उपस्थिति र सहभागिताका आधारमा सहभागीलाई यातायात खर्चबापत सीमित रकमसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
छनोट भएका सहभागीले लगातार १० सातासम्म प्रत्येक शनिबार हुने प्रशिक्षणमा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ। साथै, समूहगत गतिविधि, अभ्यास तथा छलफलमा सक्रिय सहभागिता जनाउनुका साथै अन्तिम व्यावसायिक विचार प्रस्तुतीकरणमा समेत सहभागी हुनुपर्नेछ।
कार्यक्रमका लागि आवेदन दिने अन्तिम मिति भदौ २ गते राति ११ः५९ बजेसम्म रहेको छ। आवेदनको समीक्षा भदौ ३ र ४ गते गरिने तथा छनोट भएका सहभागीलाई भदौ ४ र ५ गते जानकारी गराइने आयोजकले जनाएको छ।
आवेदन दिँदैमा कार्यक्रममा सहभागिता सुनिश्चित नहुने र छनोट भएका आवेदकलाई मात्र सम्पर्क गरिने आयोजकले स्पष्ट पारेको छ।














